समाचार

राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको छ ।

सरकारले भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदूतमा क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो ।

समितिले उनीहरुको संसदीय सुनुवाइ गर्नुअघि राजदूतका योग्यता लगायतका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पछिल्लो समय बनाएको मापदण्ड अध्ययनका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । गत असारमै मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त मापदण्ड सरकारले सार्वजनिक भने गरेको छैन ।