लुम्बिनी

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने: मन्त्री पौडेल

राँझा । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताइन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु आवश्यक छ ।”

वस्तुगत सबैखाले सहकारीले युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुने बताइन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी बस्नेतले सहकारीमा युवाको सहभागिता बढाउन प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका युवालाई नेपालगञ्जमा जम्मा गरेर सहकारी सम्मेलन आयोजना गरिएको बताइन् ।

दुई सय ५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवाको सहभागिता रहेका सहकारी युवा सम्मेलनमा सहकारीमा युवा सहभागिता र युवा उद्यमशीलता, सहकारी र नेतृत्व विकासका विषयमा छलफल गरेर नेपालगञ्ज घोषणापत्र जारी गरिने सङ्घका केन्द्रीय महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले दशवर्ष अघि २००९ मा गरेको अध्ययन अनुसार सहकारी संस्थामा २० प्रतिशत मात्र युवा सहभागिता रहेको थियो भने नेतृत्व १५ प्रतिशत रहेको थियो । अहिले यो प्रतिशत अझ घटेको सङ्घका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको भनाइ छ ।

सहकारी युवा सम्मेलनबाट युवा वर्ग सहकारीमा आवद्ध हुन अभिप्रेरित हुने, सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाको लागि नीति निर्माणमा सहयोग पुग्ने, युवा उद्यमशीलता विकासको प्रवद्र्धनमा सहयोग पुग्ने र बचत तथा ऋण सहकारी संस्थामा युवा लक्षित उत्पादन तथा सेवाको विकासको शुरुवात हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।