समाचार

हेलो सरकारद्वारा सात वर्षमा ७५ प्रतिशत गुनासा सम्बोधन

काठमाडौँ । जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ ।

विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गरेको हेलो सरकारले अहिलेसम्म ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको हो । शुरुमा फोनबाट जनताका गुनासा टिप्दै सम्बन्धित निकायमार्फत् सम्बोधन गर्दै आएको हेलो सरकार अहिले पनि फोन, सामाजिक सञ्जालबाट गुनासो टिप्दै आएको छ । दैनिक अहिले ६० गुनासा आउने गर्दछन् । सात वर्षमा सर्वसाधारणबाट आएका ८४ हजार ३८० मध्ये ६३ हजार ५०७ गुनासो सम्बोधन गरिएको हेलो सरकारका शाखा अधिकृत रुपकराज अर्यालले जानकारी दिए । तीमध्ये अहिले पनि २० हजार ८७३ गुनासा भने सम्बोधन गर्न बाँकी रहेका छन् ।

अहिलेसम्म हेलो सरकारमा आएकामध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, पशुपक्षी विकास मन्त्रालयल, निर्वाचन आयोग, गृहमन्त्रालय जनताका गुनासा सम्बोधन गर्नेमा अगाडि रहेका शाखा अधिकृत अर्यालले जानकारी दिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयले अलि कम जनताका गुनासा सम्बोधन गर्ने गरेका देखिएको छ ।
हेला सरकारका प्रमुख उपाध्यायका अनुसार सबभन्दा बढी गृहमन्त्रालयको १४ हजार ८५० गुनासा आएका छन् । तीमध्ये १२ हजार १३ सम्बोधन गरिएका छन् । सबभन्दा कम प्रधानमन्त्रीलाई ८० वटा मात्र आएकोमा ४१ को फछ्र्योट गरिएको छ । बिहान ७ देखि दिउँसो २ र दिउँसो २ देखि साँझ ९ बजेसम्म हेलो सरकारबाट सर्वसाधारणका गुनासा टिप्ने गरिएको छ ।

टिपिएका गुनासा हेलो सरकारबाट तुरुन्तै सम्बोधन भए त्यहीबाट र नभए सम्बन्धित निकायमा सम्बोधन गर्न पत्राचार गरिन्छ । यस्तै जिल्लागत गुनासालाई त्यही सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई पठाइन्छ । यो निकायलाई ‘कल सेन्टर’को रुपमा विकास गर्न भनिएता पनि अहिले सम्म त्यसले पुर्णता पाउन सकेको छैन । कल सेन्टरका लागि ल्याइएको सफ्टवेयर पूर्णरुपमा सञ्चालन नहुँदा ‘गुनासो पोर्टस’ सञ्चालन ल्याउन नसकिएको हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिए ।

“हामीले अहिले पनि फोन र सामाजिक सञ्जालबाट आएका गुनासोलाई हातले टिपेर सम्बोधन गर्न सम्बन्धित निकायमा पठाउने गरेका छौँ” उनले भने, “कल सेन्टरलाई ल्याइएको सफ्टवेयर सञ्चालनमा कठिनाइ हुँदा हेलो सरकारले छिटो छरितो गुनासो सम्बोधन गर्न सकेको छैन ।” करीब ७० लाखमा छ महीना अघि उक्त सफ्टवेयर ल्याइएको हो । सम्बन्धित निकायका प्रमुखको नम्बर ‘गुनासो पोर्टल’मा राखी तत्काल सर्वसाधारणको गुनासा ती निकायको प्रमुखमा जाने छ र उनीहरुले तुरुन्तै गुनासा सम्बोधन गर्ने गरि सफ्टवेयरको विकास गरिएको हो ।

जनशक्तिको अभाव

हेलो सरकारमा जनशक्तिको समेत अभाव रहेको छ । जनशक्ति अभावले टेलिफोनसहित फेसबुक, भाइबर, मोबाइल एप, मेलमा आएका गुनासोलाई सम्बन्धित ठाउँमा पु¥याउन नसकिएको प्रमुख उपाध्यायले जानकारी दिए। अहिले एक जना उपसचिव, चार जना शाखा अधिकृत र आठ प्राविधिक कर्मचारी छन् ।

प्रदेशस्तरीय हेलो सरकार

यसैगरी चारवटा प्रदेश सरकारले पनि प्रदेशस्तरीय हेलो सरकार सञ्चालन गरेका छन् । प्रदेश नं २, गण्डकी, कर्णाली र प्रदेश नं ७ ले प्रदेशस्तरमा आफ्ना सरकार मातहतका गुनासा सम्बोधन गर्नका लागि ‘हेलो सरकार’ सञ्चालन गरेका छन् ।