समाचार

हिंसाका घटनामा संवेदनशील हुन आग्रह

काठमाडौँ । प्रजातन्त्रवादी कानून व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको भनी आरोप लगाएको छ । देशका विभिन्न ठाउँमा भएका घरेलु र यौनजन्य हिंसा, बलात्कार, हत्या तथा अपहरणका कारण महिला तथा बालबालिका असुरक्षित भइरहेको भन्दै त्यसतर्फ तत्काल संवेदनशील हुन डिएलएले आग्रह गरेको छ । निर्मला पन्तको घटना सम्बन्धमा लामो समयसम्म पनि अपराधीको पहिचान गरी कानूनी दायरमा ल्याउन राज्य संयन्त्र उदासीन भएको डिएलएको आरोप छ ।

त्यसैगरी कानूनबमोजिम नियुक्त विभिन्न निकायका पदाधिकारी तथा राजदूतको समयावधि पूरा नहुँदै ‘प्राकृतिक न्यायको सिद्धान्त विपरीत’ बर्खास्ती तथा फिर्ता गरिएको भन्दै डिएलएले विरोध गरेको छ । आफ्नो २९औँ स्थापना दिवसका अवसरमा आयोजित पत्रकार अन्तक्र्रियामा डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले हाल प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणा र मानवाधिकारको पालना हुन नसकिरहेको टिप्पणी गरे । डिएलएका उपाध्यक्ष राजु कटुवालले परराष्ट्रनीति तथा कूटनीतिक मर्यादालई सरकारले पालना गर्न नसकेको टिप्पणी गरे ।

डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले संस्थाको स्थापना दिवसका अवसरमा तीनदिने कार्यक्रम आयोजना गरिएको जानकारी दिए । स्वतन्त्र र सक्षम न्यायप्रणाली स्थापना तथा विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा प्रयत्नशील रहने उद्देश्यले डिएलएको स्थापना २०४७ साल मङ्सिर ५ गते भएको हो । यसका संस्थापक अध्यक्षमा लक्ष्मणप्रसाद अर्याल थिए ।