शिक्षा

वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी सिटमा विद्यार्थी भर्ना नगरेको भन्दै परेको उजुरीमा उच्च अदालत विराटनगरले प्रतिष्ठानको पक्षमा फैसला गरेको छ ।

गत साउनमा प्रतिष्ठानले लिएको एमडिएमएसको प्रवेश परीक्षा उत्तिर्ण गरेका तर, काउन्सेलिङमा नआएका तीन विदेशी विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकार हनन भएको भन्दै उच्च अदालतमा दायर गरेकोमा मुद्दामा अदालतले प्रक्रियाभन्दा बाहिर गएर भर्ना गर्न नमिल्ने भन्दै प्रतिष्ठानका पक्षमा फैसला गरेको छ । फैसला सोमबार गरेको हो । उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र सारङ्गा सुवेदीको इजलासले रिट खारेज गरेको हो ।

प्रतिष्ठानले गत साउन १९ गते एमडिएमएसका लागि प्रवेश परीक्षा लियो । २८ सिटका लागि लिइएको उक्त परीक्षाबाट १० जना मात्र पास भए जसमा पहिलो काउन्सेलिङमा दुई जना विद्यार्थी मात्र आए । त्यसपछि त्यसपछि दोस्रो काउन्सेलिङ गर्दा त्यसमा पनि दुई जना मात्र विद्यार्थी आए । ‘१० जना पास भएकामा ४ जना मात्र काउन्सेलिङमा आएपछि प्रतिष्ठानले बाँकी पास भएका ६ जनालाई समेत पत्राचार गर्दै तेस्रो काउन्सेलिङ बोलायो । तर, तेस्रो काउन्सेलिङमा विद्यार्थी आएनन् ।’ प्रतिष्ठानका शिक्षाध्यक्ष डा। गुरु खनाल भन्छन् ।

प्रतिष्ठानको प्रोस्पेक्टस अनुसार भारतीय विद्यार्थीको हकमा पहिलो प्रवेश परीक्षामा तीन पटक काउन्सेलिङ गर्न पाइन्छ । र, पहिलो इन्ट्रान्सबाट ५० प्रतिशत भन्दा कम विद्यार्थी भए दोस्रो इन्ट्रान्स गर्न पाउने प्रावधान अनुरुप प्रतिष्ठानले पुनः एमडिएमएसका लागि दोस्रो इन्ट्रान्स बोलायो । प्रोस्पेक्टस अनुसार दोस्रो इन्ट्रान्सको एक पटक मात्र काउन्सेलिङ हुन्छ । र, दोस्रो इन्ट्रान्समा ३ सय विद्यार्थी सहभागी हुँदै २५ जना पास भए ।

त्यसपछि प्रतिष्ठानले पास भएका विद्यार्थीलाई काउन्सेलिङका लागि बोलाउँदा ८ जना मात्र आए । र, अन्तमा विदेशी विद्यार्थीको २८ जनाको कोटामा मात्र १२ जना भर्ना भए । यहाँनिर तीनै २५ विद्यार्थी मध्ये ३ जना प्रतिष्ठानको काउन्सेलिङमा ढिलो आइदिए, जसलाई प्रतिष्ठानले काउन्सेलिङ गरेन । तत् पश्चात प्रतिष्ठानका उपकुलपति र विदेशी विद्यार्थीहरुमा चलखेल गर्ने गिरोहले यी तीन भारतीय विद्यार्थीलाई प्रयोग गरेर उच्च अदालतमा मुद्दा दायर गराए ।

यसले प्रतिष्ठानको शैक्षिक क्यालेण्डरलाई नै प्रभावित बनाइदियो । सेप्टेम्बर २ मा कक्षा सञ्चालन गर्नुपर्ने प्रतिष्ठानको क्यालेण्डर तीन महिना पछि सर्यो । इतिहासमै प्रतिष्ठानको एकेडेमिक क्यालेन्डर प्रभावित भएको यो पहिलो घटना हो । ‘हामीले यसपटक सबैभन्दा राम्रो काम गरेका थियौं, तर विदेशी विद्यार्थीको कोटामा चलखेल गर्ने तत्वले हाम्रो क्यालेण्डरलाई नै प्रभावित तुल्याइदिए ।’ शिक्षाध्यक्ष डा। खनाल भन्छन् । उनका अनुसार प्रोस्पेक्टस अनुसार पुनः प्रवेश परीक्षा समेत सञ्चालन गर्दा विद्यार्थी नआएपछि उक्त कोटा स्वतः नेपाली विद्यार्थीलाई जाने प्रावधान छ । जस अनुसार बाँकी रहेको १६ सिटमा मेरिटका आधारमा नेपाली विद्यार्थीले पाउने बाटो खुलेको छ ।

उनीहरुको काउन्सेलिङ आउँदो २५ गते हुन्छ । अनी मात्र पढाइ सुरु हुन्छ । यसपटक प्रतिष्ठानले एमडिएमएसमा १६२ सिट निर्धारण गरेको छ । यो प्रतिष्ठानको इतिहासमै सबैभन्दा धेरै हो ।

पढ्ने अधिकार हनन गरिदिएको भन्दै उजुरी हाल्ने भारतीय विद्यार्थी थिए, डा। निशान्त कुमार, डा। कुमार शैलेन्द्र शेखर र डा। अरिबा अकवर । एक जना अर्का विद्यार्थीले आफ्नो ठूलो बुबाको निधन भएकोले काउन्सेलिङमा आउन नसकेको भन्दै पुर्नविचार गर्न भनेका थिए ।

यी तीन विद्यार्थीको अनुरोधलाई उच्च अदालत विराटनगरले सोमबार खारेज गरिदिएको हो । प्रतिष्ठानको प्रोस्पेक्टसमा स्पष्ट रुपमा ‘पुनः इन्ट्रान्स गर्दा पनि विद्यार्थी नआए विदेशी विद्यार्थीको कोटा स्वतः नेपाली विद्यार्थीमा परिणत हुनेछ’ भनिएकोले काउन्सेलिङमा उपस्थित भएका विद्यार्थीलाई भर्ना गर्न नमिल्ने भन्दै उच्च अदालतले निर्णय गरिदिएको हो । अदालतको यो निर्णयले विदेशी विद्यार्थी भर्ना गर्ने भन्दै करोडौं चलखेल गर्ने उपकूलपति र उनका दाजु गौरीशंकर रौनियार, दुहवीका भारतीय रुपैंयाको कारोबार गर्ने लक्ष्मण तापडियाको करोडौं कमाउने सपना चकनाचुर भइदिएको छ ।

विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट बञ्चित गर्नुहुन्न भन्दै बहस गर्न बरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य लगायत ऋषि घिमिरे, सुरेशलाल श्रेष्ठ, हेमन्त सापकोटा र विकास थापा थिए । यता प्रतिष्ठानका पक्षबाट बरिष्ठ अधिवक्ताद्वय तुलबहादुर श्रेष्ठ र विपुलेन्द्र चर्कवर्तीले वहस गरेका थिए ।

विराटनगर उच्च अदालतमा वहस भइरहँदा उपकूलपति डा। रौनियार आफ्नो कार्यकक्षमा थिए । फैसला प्रतिष्ठानको पक्षमा गएपछि हतास भएका डा। रौनियारले त्यसपछि प्रतिष्ठानकै कतिपय ब्यक्तिलाई गालीगलौज गरेको स्रोतको दावि छ ।

प्रवेश परीक्षा हुनु अगावै गौरीशंकर रौनियार, दुहवी नगरपालिकामा भारु पैसाको कारोबार गर्ने ब्यापारी लक्ष्मण तापडिया, कपडा ब्यवसायी मिलेर भारतीय विद्यार्थीलाई एमडिएमएस परीक्षामा उत्तिर्ण गराइदिने भन्दै डील गरेको स्रोतको दावि छ । ‘तर, काउन्सेलिङमै विद्यार्थी नआइदिएपछि उनीहरुको योजना असफल भइदियो । त्यसपछि उपकूलपति र उनको समुहले नै विद्यार्थीहरुलाई उचालेर मुद्दा हाल्न लगाएका हुन् ।’ स्रोतको दावि छ ।

प्रवेश परीक्षा अगावै भारतीय विद्यार्थीबाट मोटो रकम लिएका उनीहरुले विद्यार्थीहरुबाट लिएको पैसा चलाइसकेकोले फिर्ता दिन सकस परेको छ । स्रोतका अनुसार अहिले ती विद्यार्थीले लक्ष्मण तापडियालाई पैसा फिर्ता गर्न चर्को दवाव दिएका छन् ।

डा। रौनियारले आफैं वकिल खोजिदिएर भारतीय चिकित्सकहरुलाई प्रतिष्ठान विरुद्द उच्च अदालत बिराटनगरमा मुद्दा हाल्न लगाए पनि अदालतले विद्यार्थीका पक्षमा फैसला गरेन । आफैंले नेतृत्व गरेको संस्था विरुद्द मुद्दा हाल्न लगाएको यो नेपालकै पहिलो उदाहरण हो । अदालतको फैसलाले मेरिट लिष्टमा परेका १६ जना नेपाली चिकित्सकलाई प्रतिष्ठानमा एमडिएमएस अध्ययन गर्ने बाटो खुल्ला भएको छ । ‘प्रोस्पेक्टसमा स्पष्ट खुलाईएको मुद्दाको हरेक पेसीमा उपकुलपति ज्यूले नै मुद्दालाई कमजोर बनाउने कोशिष गर्नुभएको थियो ।’ प्रतिष्ठानका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

एमडिएमएस इन्ट्रान्स परीक्षामा भएको चलखेलका विषयमा प्रतिष्ठानका उपकूलपति डा। राजकुमार रौनियारसँग कुरा गर्न बारम्बार फोन सम्पर्क गर्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन ।