साहित्य

अमेरिका निवासी डायोस्पोरिक साहित्यकार लामिछानेको ’अल्टिमेट आकाश’ बजारमा

काठमाडौँ । अमेरिका निवासी डायोस्पोरिक साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ विमोचन भएको छ अमेरिकी भूमिमा युवाले गर्नुपरेको सङ्घर्ष र सफलताको कथा कृतिको विषयवस्तु रहेको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित उक्त उपन्यास ‘आमाजोन’बाट अनलाइनमा बिक्री भइरहेको बताइएको छ ।

नेपाली अमेरिकी मैत्री संघ ९नाफा०को आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औंँ जन्मजयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ का अवसरमा मङ्गलबार कृति विमोचन भएको थियो । साहित्यकार कृष्ण बजगाईंले कृतिको समीक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा सो कृति विषयवस्तु, भाषा र शैलीका हिसाबले रोचक रहेको बताए ।

उपन्यासकारका पिता डा भरत लामिछानेले कृतिका सकारात्मक पक्ष र चुनौतीमाथि आफ्नो विचार राखेका थिए । उपन्यासकार लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाइलाई उपन्यासको रुप दिइएको र केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुनसक्ने बताए ।

सो अवसरमा साहित्यकार विजय मल्लका सुपुत्रीबाट प्रायोजित ‘विजय मल्ल साहित्य पुरस्कार’ कविता प्रतियोगितामा १५ कविता र कृष्णदास मल्लको परिवारबाट प्रायोजित ’नाफा बाल साहित्य पुरस्कार’ कविता प्रतियोगितामा १५ कविता वाचन भएको आविष्कार भारतीले जानकारी दिए ।

नाफा बाल साहित्य पुरस्कार’ तर्फ एरिना उप्रेती प्रथम, खुशी श्रेष्ठ द्वितीय र जुना रिजाल तृतीय भएवापत क्रमशः अमेरिकी डलर ७५, ५० र ३० प्रदान गरिएको थियो । त्यस्तै ‘विजय मल्ल साहित्य पुरस्कार’ तर्फ गङ्गा मल्ल प्रथम, अप्सरा गिरी द्वितीय र विश्वजित अधिकारी तृतीय भई क्रमशः १५०, १०० र ७५ अमेरिकी डलर प्राप्त गरेका थिए । सो अवसरमा नाफाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने कक्षाका गुरु र विद्यार्थीले आफ्ना बुवाआमाका लागि ‘तिम्रो लागि सारा संसार’ गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकी मैत्री सङ्घ र रिन्युएबल एनर्जी ग्रुप म्याडिसनले रिभा श्रेष्ठ र निऋती अधिकारीलाई छात्रवृत्तिस्वरुप जनही अमेरिकी डलर ५०० र प्रमाणपत्र तथा पर्वत रेग्मीलाई ’नाफा विशिष्ट युवा स्वयंसेवक पुरस्कार २०७५’ प्रदान गरिएको थियो ।

सो अवसरमा अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए।