समाचार

पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न आजदेखि यस्तो अभियान सुरु

काठमाडौँ । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ ।  पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको हो ।
अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिए । जागरण अभियान देशैभरि सञ्चालन गरिने छ ।
पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएको छ । पछिल्लो तीन महीनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।
यस आर्थिक वर्ष २०७५ र ७६ को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । आव २०७४/०७५ मा १६५ वटा उजुरी परेका थिए ।
नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।
आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ ।