राजनीति

राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलको संयोजक  राजेन्द्र महतो भएका छन् ।

एकतामा भएको नेतृत्व चक्रिय प्रणाली अनुसार अध्यक्षता पालैपालो गर्ने सहमितका आधारमा संयोजकको जिम्मेवारी महतोले पाएका हुन् । राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले महतोलाई बुधबारबाट संयोजकको जिम्मेवारी दिइने निर्णय भएको पार्टी महासचिव तथा प्रवक्ता केशव झाले जानकारी दिए।

‘अध्यक्ष मण्डलको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी अहिलेसम्म गर्नुभएकोमा महन्थ ठाकुरप्रति अभार प्रकट गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अब भोलिबाट संयोजकको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्नुहुनेछ।’ पछिल्लो समय ठाकुरको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद सुरु भएको थियो।

ठाकुरले पार्टीभित्र कुनै ठोस निर्णय लिन नसकेको आरोप लाग्ने गरेको थियो। यसअघि छ पार्टी एक हुँदा चक्रिय प्रणालीअनुसार प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुने सहमति भएको थियो। तर उक्त निर्णय कार्यन्वयन नहुँदा ठाकुर करिब डेढ वर्ष अध्यक्ष मण्डलको संयोजक भए। महतोलाई संयोजक बनाउने निर्णय पनि राजपाले सर्वसम्मत गर्न सकेन।

उक्त निर्णय राजपा अध्यक्ष मण्डलको बैठकमा बहुमतको अधारमा भएको बताइएको छ।