समाचार

मजदुरलाई कमजोर नठान्न चेतावनी दिँदै आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस

काठमाडौँ । नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ ।

ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल संस्थानको प्रधान कार्यालयमा आज कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कमजोर नठान्न आग्रह गरे ।

केन्द्रीय सदस्य सञ्जय दाहालले मजदूरमाथि गरिने विभेदले चिन्तित बनाएको बताए । कर्मचारीले संस्थानमा क्रियाशील चार युनियनले उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक रामजी अर्यालले बताए ।

संस्थानले गठन गरेको वार्ता टोलीले सोमबार छलफल गरे पनि सहमति हुन सकेको छैन । संयुक्त सङ्घर्ष समितिले आजदेखि शाखा कार्यालयमा हस्ताक्षर सङ्कलन शुरु गरेको जनाएको छ । संस्थानमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।