बाग्मती

बलात्कार अभियुक्त भारतबाट पक्राउ

चितवन । भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो ।

गत कात्तिक २४ गते बेलुका भरतपुर महानगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका भरतपुर–१३ का २७ वर्षीय राजन विकलाई लुकीछिपी बसिरहेको अवस्थामा यही मङ्सिर १ गते पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले विकले प्रयोग गर्ने मोबाइल ट्रयाक गर्दै उनीसम्म पुग्न प्रहरी सफल भएको बताए । अभियुक्त एक रात बर्दघाट, एक रात बुटवल हुँदै भारतको गुणगाउँ पुगेका थिए ।

प्रहरी निरीक्षक गणेश पौडेल नेतृत्वको टोलीले घटनाको सात दिनपछि विकलाई पक्राउ गरेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ । उनीमाथि लागेको अपराध प्रमाणित भए १४ देखि १६ वर्षसम्म कैद सजाय हुन हुनेछ ।