समाचार

मृत्यु भएको छ वर्ष बित्यो तरपनि अझैँ शव नेपाल आएन

भद्रपुर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन ।

पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए ।

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ गएका नीरज निराश भएर आज घर फर्किएका छन् ।

अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए । “आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो”, श्रेष्ठले भने ।

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउछन् । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ हुन् ।

नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा जानुभएको थियो भन्नेसमेत छोराछोरीलाई जानकारी छैन ।

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाउनुभएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएका छोरा नीरजले बताए । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो ।

श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । “हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ”, शव नआएपछि निराश बन्नुभएका जेठा छोरा नीरज भन्छन्, “शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।”