आर्थिक

चिनीया राष्ट्रपति फिलिपिन्स भ्रमणमा

मनिला । फिलिपिन्सको राजकीय भ्रमणका सिलसिलामा चिनीया राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला आइपुगेका छन् । प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सन् २०१६ को चुनावबाट फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटर्टे निर्वाचित भएसँगै चीनलाई अप्रत्यासित साझेदार मित्रराष्ट्र प्राप्त भएको हो । डुटर्टेले राष्ट्रपतिमा विजय हासिल गरेपछि फिलिपिन्सको अमेरिकासँगको शताब्दीऔंदेखिको सम्बन्धमा कटुता आएको थियो । फिलिपिन्सले पछिल्ला वर्षहरुमा अमेरिकाको सट्टा बढी मात्रामा चीनबाट लगानी भित्र्याउनुका साथै व्यापारिक साझेदारी निर्माण गरिरहेको छ ।

विगत १३ वर्षमा पहिलोपटक हुन लागेको चिनीया राष्ट्रपतिको भ्रमणका अवसरमा बेइजिङले प्रतिज्ञा गरेबमोजिमका ठूला पूर्वाधार परियोजनामा लगानीसम्बन्धी सम्झौता हुने मनिलाले जनाएको छ । दुई वर्षअघि डुटर्टेको चीन भ्रमणका अवसरमा ती परियोजनामा लगानीसम्बन्धी सहमति भएको थियो ।

चीनले सन् २०१३ यतामात्र अर्बौं डलरको ऋण सहायता फिलिपिन्सलाई उपलब्ध गराइसकेको छ । एसियामा दोस्रो विश्वयुद्धपछि कायम रहेको अमेरिकाको प्रभावलाई चीनले राजनीतिक र आर्थिक दुवै मोर्चामा चुनौती दिइरहेको छ ।

तर, मङ्गलबार अपराह्न मनिला आइपुग्नु अघि मनिलास्थित चिनीया दूतावास अघिल्तिर भेला भएका केही प्रदर्शनकारीले चीन विरोधी नारा लगाएका छन् । उनीहरुले “फिलिपिन्स बिक्रीमा छैन” भन्दै नाराबजी गरेका थिए । उनीहरुले विवादित दक्षिण चीन सागरबाट चीन अलग्ग हुनुपर्ने बताएका छन् ।

डुटर्टेले भने राष्ट्रपति सीलाई न्यानो आतिथ्यता प्रदान गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामासँग तिक्ततापूर्ण सम्बन्ध रहेपनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपति डुटर्टेको सम्बन्ध सुधार भएको छ ।