खेलकुद

‘खेलेरै बाँच्न नेपालमा कठिन छ’

काठमाडौँ । “खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो” आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्तिका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो ।

“अहिले देश फेरियो परिवेश फेरियो काम एउटै हो, नेपालमा रहँदा फुटबल खेल्थेँ, जापानमा फुटबल सिकाउँछु”, साहुखलले भने । परिवार र सन्ततिका लागि पनि केही गर्नुपर्ने भएकाले विदेश जानुपरेको उनको भनाइ छ । “खेलेर मात्र जीवन धान्न सकिने अवस्था रहेन, म मात्र होइन धेरै खेलाडी विदेशिएका छन् ।”

नेपाली फुटबलमा साहुखलको नाम पछिल्लो तीन वर्षदेखि कतै सुनिएको छैन । साहुखल फुटबलबाटै टाढिएका भने होइनन् । फरक मुलुक र फरक परिवेशमा उनले फुटबललाई निरन्तरता दिइरहेका छन् । तीन वर्षयता सन्तोष जापानमा छन् र मुख्य कुरा उनी फुटबलमै छन् । त्यहाँको एक क्बलमा आबद्ध उनी बालबालिकालाई फुटबल सिकाउँछन् ।

विसं २०७२ मा राष्ट्रिय लिग खेलेयता उनले नेपाली राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन् । जापानबाट एक महीनाको छुट्टीमा अघिल्लो साता नेपाल आएका उनलाई नेपाली फुटबलको मायाले छोडेको छैन । “च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले लिग खेल्न आग्रह गरे पछि म नेपाल आएँ ।”

जारी लिगमा उनी अब च्यासलको जर्सी लगाएर मैदानमा उत्रने छन् । “च्यासलमा अहिले सबै नयाँ खेलाडी रहेछन्, विमल घर्तीबाहेक सबै साथी नयाँ छन्, उनीहरुसँग मिलेर लिगमा राम्रो प्रदर्शन गर्नेछु ।”

जापान र नेपाली फुटबलमा के फरक पाउनुभयो भन्ने प्रश्नमा साहुखलले भने, “नेपालको प्रशिक्षण मैदान राम्रो छैन, त्यहाँ पूर्वाधारको हिसाबले धेरै राम्रो छ ।” जापानको लिग ‘एट’ फुटबल लिग खेलिरहेका उनलाई जापानमा मात्रै फुटबल र फिटनेसबारे ज्ञान भयो । नेपालमा रहँदा प्राय फिटनेसका कारण विवादमा आइरहने उनी अहिले फिट देखिन्छन् । सन्तुलित आहार र सन्तुलित खेल नै खेलाडीको फिटनेसमा अहम् हुने उनले बुझे । नेपाली खेलाडीमा त्यही समस्या अहिले पनि रहेको उनको बुझाइ छ ।

राष्ट्रिय टोलीबाट खेल्दाखेल्दै जापान भासिएका उनले अहिलेसम्म सन्न्यासको घोषणा गरेका छैनन् । “अझै मौका पाए राष्ट्रिय टोलीबाट खेल्ने इच्छा छ”, साहुखलको भनाइ थियो ।

पछिल्लोपटक राष्ट्रिय लिगमा थ्रीस्टार क्लबबाट खेलेका सन्तोषले त्यसबीच नेपाल आएर मोफसलका केही प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लबबाट पनि खेलेका थिए । घरेलु फुटबलमा सर्वाधिक गोलकर्ता रहेका सन्तोषले लिग फुटबलमा १०० गोल पूरा गरिसकेका छन् । उनले थ्री स्टार, एपिएफ र मनाङमस्र्याङ्दीबाट व्यावसायिक लिग खेलिसकेका छन् । थ्रीस्टारका लागि उनले दुई पटक ए डिभिजन लिग र एक पटक राष्ट्रिय लिगसमेत जितेका छन् ।

सन्तोषले राष्ट्रिय टोलीमा पछिल्लोपटक सन् २०१५ मा भएको फिफा विश्वकप छनोट खेलेका थिए । उनले भारतविरुद्धको दोस्रो लेगको खेल शुरुआती रोजाइबाट खेलेका थिए । त्यसपछि उनी टोलीमा अटाएका छैनन् । उक्त खेलमा विमल घर्तीमगर र सन्तोषले नेपालको अग्रपङ्क्ति सम्हालेका थिए । अहिले च्यासल युथ क्लबमा पनि विमल र सन्तोषले नै फरवार्ड सम्हाल्नेछन् ।

सन् २००७ को अक्टोबरमा भएको विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट डेब्यू (अन्तर्राष्ट्रिय खेल शुरु) गरेका सन्तोषले २०१५ मा विश्वकप छनोटअन्तर्गत नै भारतविरुद्ध अन्तिम पटक खेलेका थिए । साहुखल जस्ता दर्जनौँ खेलाडी अहिले विदेश पलायन भइसकेका छन् । यस्ता प्रतिभालाई रोक्नु र खेलेरै जीवन धान्न सक्ने बनाउनु आजको मुख्य आवश्यकता हो ।