गण्डकी प्रदेश

नवलपरासीमा सडक दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

कावासोती ।  नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते उहाँको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । यस्तै कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

लु४०प २३३३ नं को मोटरसाइकल र ना२३प ७८७१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।