लुम्बिनी

खाजा खर्च जोगाएर महिलाले गरे ९१ लाख बचत

बाँके । बाँकेको दुर्गम क्षेत्रमा पर्ने फत्तेपुरका गृहणी महिलाले खाजा खर्च बचाएर करिब ९१ लाख रुपैयाँ बचत गरेका छन्।

नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ८९९ जना गृहणी महिलाले उक्त रकम बचत गरेका हुन्।  सहकारीमा मासिक, दैनिक र ऐच्छिक बचत गर्दै आएका उनीहरुले ९७ वटा बिउ बाख्रा र ३४५ वटा खसी बिक्री गरेर ३९ लाख ७३ हजार ३८९ रुपैयाँ आर्जन गरेको सहकारीका व्यवस्थापक विद्या गुरुङले जानकारी दिइन्।

ती महिलाहरुको उपहार समूह र स्वावलम्बी समूह छन्। उपहारमा ४२ र स्वावलम्बीमा ५० जना सदस्य छन्। महिलाले सञ्चालन गरेको सहकारीले व्यवसाय संचालनका लागि महिला सदस्यलाई ऋण प्रदान गर्ने र बजारीकरणमा सहयोग गर्दै आएको छ। सहकारीबाट ऋण लिएका महिलाले बाख्रा, भैँसी पालन र किराना ब्यापार गर्दै आएको अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले जानकारी दिइन्।

सहकारीको २५ लाख २१ हजार शेयर पुँजी छ। नौ लाख ७८४ रुपैयाँ जगेडा कोष छ। उद्यम सञ्चालनका लागि महिलाहरुले एक करोड तीन लाख ५७ हजार ६६९ रुपैयाँ कर्जा लिएका छन्।

अध्यक्ष चन्द ठकुरीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सहकारीले सात लाख ६७ हजार ८८३ रुपैयाँ कुल आम्दानी गरेको छ।