पत्रपत्रिका

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो।

कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा खबर छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ। सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि २०१८ मा रोजगार आवेदन दिएर पास भएका ८ हजारमध्ये लगभग ४ हजार युवाको नाम रोष्टर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो। रोष्टरमा नाम पठाएकामध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको छ।

अन्य १६ देशको तुलनामा नेपाली कामदार सबै भन्दा कम अवैधानिक बस्ने र काम प्रति लगनशिल भएका कारण कोरिया जाने नेपाली युवाको संख्या बढदै गएको छ । बिगत २ वर्षको तुलनामा कोरिया जाने नेपाली युवाको संख्या संख्या बढ्दो क्रममा रहेको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

“सन् २०१८ को नोभेम्बरसम्म कोरियाले लगभग ७ हजार ७ सय नेपाली युवाको माग गरिसकेको छ,” अधिकृत भण्डारीले भने “कोरियाको माग हेर्दा गत वर्ष भन्दा धेरै नेपाली कोरिया जाने देखिएको छ ।”

यो वर्षसम्मको अन्त्यसम्म ८ हजार ४ सय नेपाली युवा कोरिया जाने शाखाको अनुमान रहेको छ । गत वर्ष ७ हजार ८०० युवा कोरिया प्रवेश गरेको शाखाको तथ्यांकमा उल्लेख छ ।

नेपाली कामदारको माग बढेसँगै माग गरिएका युवालाई समयमा नै कोरिया प्रवेश गराउन एयरलाइन्स व्यवस्थापन चुनौती रहेको शाखाले जनाएको छ ।