पु.समाचार

आफ्नै सरकारप्रति प्रधानमन्त्री आफै असन्तुष्ट ! गर्दैछन् यसरी सुधारको प्रयास

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएको नौ महिना वितिसक्दा पनि सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेको छैन । स्वयम प्रधानमन्त्री ओली तथा सत्तापक्ष मुख्य नेताहरुले सरकारले सोचेजस्तो परिणाम दिन नसकेको कुरा स्विकार्दै आएको छ ।

दुर्इ तिहार्इ बहुमतसहितको शक्तिशाली दाबी गरिएको सरकारप्रति विपक्षी पनि हाबी छ । सत्तापक्षभित्र  पनि सरकारको आलोचना नभएको होइन । “समृद्ध नेपाल सुखी नेपाली” निर्माणको टोली अर्थात केपी ओलीको मन्त्रिमण्डलले पनि पनि सन्तुष्ट हुनेगरी काम गरेको देखिदैन । मन्त्रीहरुले सरकारको नीति विपरित आफुखुशी काम गरेकोप्रति प्रधानमन्त्री ओली रुष्ट छन् । उनले मन्त्रिहरुको निगरानी गर्न सुरु गरेका छन् । आफ्नो टिमले आफ्नो नीतिअनुरुप चुस्तदुरुस्त रुपमा काम गरेनगरेको अनुगमन कार्य प्रधानमन्त्री ओलीले प्रारम्भ गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरेक मन्त्रालयको सचिवमार्फत् मन्त्रालयको कार्यप्रगति प्रतिवेदन लिने व्यवस्था लागु गरेको छ । उक्त व्यवस्थाअन्तर्गत हरेक महिनाको ७ गतेभित्र मन्त्रालयका सचिवहरुले अघिल्लो महिनाको कार्यप्रगति विवरण र कार्ययोजना प्रधानमन्त्री कार्यालयलार्इ बुझाउनुपर्ने छ । यसका लागि विशेष खालको सफ्टवेयर निर्माण गरिएको छ । असोज महिनाको कार्यप्रगति विवरण हरेक मन्त्रालयले उक्त सफ्टवेयर मार्फत बुझाए भने मङ्सिर ७ गतेसम्म कार्तिक महिनाको दस्तावेज बुझाउनुपर्ने हुन्छ । हरेक मन्त्रालयले विवरण स्वयम प्रधानमन्त्रीले हेर्ने र सम्बन्धित मन्त्रीसँग स्पष्टिकरण माग्नुहुनेछ । अघिल्लो महिनाको विवरण हेरिसकेका प्रधानमन्त्री ओलीले यहि महिना ५ देखि ७ गतेसम्म मन्त्री तथा सम्बन्धित मन्त्रालयको सचिवसँग जवाफ माग्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

संघीय सरकारका प्रत्येक मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम एवं वार्षिक बजेटअनुसार मन्त्रालयका वार्षिक कार्यक्रम तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएका छन् । प्रधानमन्त्री कार्यालयले अहिले त्यसकै आधारमा मन्त्रालयहरुको कार्यप्रगति विवरण मापन गर्न सुरु गरेको हो । मन्त्रालयहरुको काम कारवाहीसम्बन्धमा पठाएको विवरणका आधारमा सफ्टवेयर स्वयमले मुल्याङकन समेत गर्नेछ । योजनाअनुसार काम नगरेमा मन्त्रीले आफ्नो पद पनि गुमाउनुपर्नेसम्मको कारबाही गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली छन् ।  ओली सरकारको नौ महिने कार्यकालमा नागरिक सन्तुष्ट हुन सकेका छैनन् भने प्रधानमन्त्री पनि आफ्नै सरकारका मन्त्रीप्रति सन्तुष्ट हुन सकेका छैनन् । प्रधानमन्त्रीप्रति जनता र मन्त्रीप्रति प्रधानमन्त्री असन्तुष्ट रहेका छन् ।