खेलकुद

‘ए’ डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ ।

आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा तेस्रो खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

लिग चरणको दोस्रो खेलमा उत्रिँदै गर्दा सङ्कटा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जावलाखेल भने पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीमा उमेर समूहका खेलाडीको बाहुल्यता छ ।

पहिलो खेलमा सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो ।

आजै दोस्रो खेलमा फ्रेन्डस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । फ्रेन्डसले पहिलो खेलमा थ्री स्टारसँग २–१ को पराजय बेहोरेको थियो । एपिएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

आजै एपिएफ मैदानमा हिमालयन शेर्पा र सरस्वती युवा क्लबले खेल्नेछन् । पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । सरस्वती भने सङ्कटासँग पराजित भएको थियो ।