विचित्र संसार

प्रधानमन्त्रीलाई जुत्तामा दिईयो खाना !

काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको छ । इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री आबेलाई जुत्तामा खाना दिइएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीरहरु अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रकाशित गरेका छन् । यो इजरायलले प्रधानमन्त्री आबेलाई अपमान गरेको रुपमा लिइएको छ । जापानी संस्कृतिअनुसार जुत्तालाई अपमानजनक मानिने भएको कारण पनि इजरायले यसो गरेको बताइएको छ ।

इजरायली सेलिब्रेटी शेफ मोशे सेगेभले जापानी प्रधानमन्त्री र इजरायली प्रधानमन्त्रीका लागि भोजनका परिकार तयार पारेका हुन् । उनले केही परिकार धातुका ‘जुत्ता’मा पस्किएका थिए । जापानी प्रधानमन्त्री आबेले हिच्किचाहट विना नै ती परिकार खाएका थिए । तर जापानी र इजरायली कुटनीतिज्ञहरुले जापानी प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारको निन्दा गरेका छन् ।

जापानमा लामो समयसम्म बसेका एक वरिष्ठ इजरायली कुटनीतिज्ञले इजरायली अखबार येदियोत अहरानोतसँग कुरा गर्दै असमवेदनशील र बेवकुफीपूर्ण काम भएको बताए । उनले भने, ‘जापानी संस्कृतिमा जुत्ताभन्दा तुच्छ अरु केही हुँदैन, जापानीहरु आफ्नो घर तथा कार्यालयमा जुत्ता भित्र्याउँदैनन्, त्यहाँका प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु पनि आफ्नो कार्यालयभित्र जुत्ता लगाएर जाँदैनन् ।’

एक जापानी कुटनीतिज्ञले पनि सोही अखबारसँग भनेका छन्, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेबलमा राखिदैंन, आखिर त्यो शेफको दिमागमा के चलिरहेको थियो रु यो कुनै मजाक हो भने यस्तो मजाक हामीलाई राम्रो लागेन । हाम्रा प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारलाई लिएर हामी खुशी हुन सक्दैनौं ।’ गत साता जापानी प्रधानमन्त्रीको सम्मानमा इजरायली प्रधानमन्त्रीले दिएको भोजमा यसरी जुत्तामा खाना पस्किएको हो । -एजेन्सीको सहयोगमा