प्रवास

सोलिडारिटी ट्रष्टमार्फत साहराका नानी र चेपाङ बालबालिकालाई न्यानो वितरण

काठमाडौँ । सोलिडारिटी ट्रष्ट नेपालले चितवनका दुई ठाउँमा न्यानो कपडा वितरण गरेको छ । सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्दा थापा (चन्द्रिका) र सल्लाहकार मीना शर्माको उपस्थितिमा कात्तिक १९ गते रत्ननगर नगरपालिका मंगलपुर ११ चितवनमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्र र भरतपुर ११ पोखरीचोकमा रहेको सहाराको घरमा रहेका बालबालिकाका लागि न्यानो कपडा र स्टेशनरी सामान वितरण गरेको हो ।

ट्रष्टले गामबेशीको चेपाङ संरक्षण केन्द्रमा १३२ थान न्यानो ज्याकेट र स्टेशनरी तथा सहाराको घरमा १६ थान न्यानो ज्याकेट र स्टेशनरी गरी १४८ थान न्यानो ज्याकेट र स्टेशनरी सामान वितरण गरेको हो ।

उक्त न्यानो कपडा तथा स्टेशनरी वितरणका लागि सोलिडारिटी ट्रष्टको पहलमा म्यादी घरभई अमेरिकाको मेरिल्याण्डमा बस्ने समाजसेवी सावित्री थापा (सवि) ले ७८ हजार रुपैयाँ, थ्यांक्यु आबुधावि युएई (राजेश थापा मार्फत्) ४५ हजार रुपैयाँ, कृष्ण तिवारी बेल्जियम ५ हजार र दिनेश शर्मा हुमागाईँ नेपाल मार्फत ५ हजार गरी १ लाख ३३ हजार रुपैयाँ प्राप्त भएको थियो ।

न्यानो कपडा तथा स्टेशनरी वितरणका अवसरमा गामबेशी चेपाङ घरका संञ्चालक तथा अध्यक्ष केपी किरण शर्माले सोलिडारिटी ट्रष्टलाई धन्यवाद दिदैं चेपाङ समुदायलाई माथि उठाउनका लागि आफूले उक्त समुदायका बालबालिकाको शिक्षामा विशेष जोड दिएको बताए । पत्रकार समेत रहेका शर्माले दुर्गममा बसोबास गरिरहेका रहेका चेपाङ समुदायका बालबालिकालाई संरक्षण केन्द्रमा ल्याएर छात्रावासको व्यवस्थासहित शिक्षा दिइरहेका छन् । उनका अनुसार उनको संरक्षण केन्द्रमा रहेका बालबालिका केहीले उच्च शिक्षा हासिल गरेर नर्स, जेटिए लगायतका प्राविधिक काममा लागेका छन् ।

त्यस्तै सहाराको घरकी संचालक कुसुम सहाराले हाल १५ जना बालिकाका लागि शिक्षा, स्वास्थ्य र गाँसवास कपासका लागि आफू संघर्षरत रहेको बताइन् । उनले यसरी नै सहयोगी हातहरु जुट्दै गए छोरीहरु भविष्यमा देशको अब्बल नागरिक बन्ने आफूले विश्वास लिएको बताइन् ।

उक्त वितरण कार्यक्रममा पत्रकारद्धय रवि रोषि, शान्ता अधिकारी, प्रधानाध्यापक रामबहादुर मगर, अनुषा घिमिरे, अनुपा घिमिरे र प्रान्जल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ट्रष्टले यसअघि पनि विदेशमा बस्ने नेपालीहरुबाट आर्थिक रकम संकलन गरी शिक्षा, स्वास्थ्य, भूकम्पपीडित लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘जहाँ नेपाली त्यहाँ ऐक्यबद्धता भन्ने भाव सहित सन् २००२ देखि प्रकाशन हुँदै आएको ऐक्यबद्धता पत्रिका र sansarnews.com संचालन गर्ने क्रममा संगालेका अनुभुति तथा उत्तरदायित्वलाई संस्थागत माध्यमबाट सम्बोधन गर्ने प्रयास स्वरुप सन् २०१२ देखि सोलिडारिटी ट्रष्ट नेपाल स्थापना भएको हो ।

ट्रष्टले प्रवासमा रहँदा दुुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्र्तराष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने व्यक्तित्वहरूका माझबाट हरेक वर्ष एकजनालाई ‘वेष्ट एनआरएन’ घोषणा गर्दै आएको छ ।

ट्रष्टले यसअघि अफ्रिकी देश नाइजेरियामा रहेर पनि देशको आर्थिक समृद्धिमा निरन्तर चिन्तित रहने तथा एनआरएनए अभियानमा पवित्र मन बोकेर ९धन,मन र तन लगाएर० अफ्रिकाभरी एनआरएनए अभियानको मर्म फैलाउने एवं अफ्रिकी महादेशका विभिन्न मुलुकका जेलबाट नेपालीलाई उद्धार गर्न दिन रात लागि परेका हिक्मत थापा, साउदी अरवमा रहेर उदाहरणीय मानवसेवामा लागेका गैरआवासीय अभियन्ता धरम केसी र गैरआवासीय नेपाली महिलाको रुपमा विभिन्न क्षेत्रमा शसक्त भूमिका निभाउन सफल सपिला राजभण्डारीलाई “उत्कृष्ट एनआरएन–वेस्ट एनआरएन” घोषणा गरिसकेको छ ।