अन्तर्राष्ट्रिय

आगलागीका कारण हजार बेपत्ता

प्याराडाइज । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन् ।

जङ्गलमा लागेको भीषण डढेलोका कारण यसअघि गत बिहीबारसम्ममा छ सयभन्दा बढी बेपत्ता भएको बताइएपछि शुक्रबार एक हजार पुगेको जनाइएको छ ।

उद्धारकर्ताले पछिल्लो समयमा थप आठ जनालाई मात्रै उद्धार गर्न सफल भएको जानकारी दिएका छन् ।

“विवरण तलमाथि हुनसक्छ, खोजी तथा उद्धार भइरहेको छ,” एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने ।

खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्नसक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् । अहिलेसम्म यस आगलागीका कारण कम्तीमा ६३ जनाको मृत्यु भइसकेको छ ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो ।

डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितलाई भेट गर्ने जनाइएको छ ।

उहाँले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाका परिवारलाई भेट गर्नुहुने पनि समाचारमा जनाइएको छ । –एजेन्सी