कृषि

नगदेबालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा जोडतोड

पशुपतिनगर । गुणस्तरीय कृषिउपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्थाका विषयमा इलाममा आयोजित कार्यक्रमका सहभागीले कृषिउपज उत्पादन वृद्धि भए पनि गुणस्तरीय नहुँदा बजारीकरणको समस्या भएको सरोकारवालाको भनाइ छ ।

कृषिजन्य सामग्री उत्पादनमा वृद्धि आए पनि गुणस्तर तथा बजारीकरणको समस्याका कारण किसानमा निरासापन देखिएको र उद्योग पनि धराशायी बन्दै गएका इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । औद्योगीकरणका लागि कच्चापदार्थ उत्पादन, प्रशोधन केन्द्र स्थापना, गुणस्तर र बजारीकरण आवश्यकता औल्याउँदै उनले इलाममा कच्चापदार्थ र प्रशोधन उद्योग पर्याप्त खुलेकाले अब गुणस्तरीय उत्पादन तथा बजारीकरणका लागि नगरपालिकाको ध्यान केन्द्रित रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पूर्वी नेपालमा दूध, अदुवा, अलैँची र चियामा लगानी बढाउँदै गुणस्तरीय उत्पादन गरि निर्यातका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले चिया क्षेत्रमा काम गर्ने मजदूरको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सरकारले नयाँ ज्याला तोकेकाले उद्योगीलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।

उन्नति समावेशी कार्यक्रमअन्तर्गत नेपाल आजिवासी जनजाति पत्रकार महासङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासङ्घका अध्यक्ष डण्ड गुरुङ, जिल्ला सहकारी सङ्घका अध्यक्ष नरेन्द्रनाथ भट्टराई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जबेगु, इलाम उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष देवेन्द्र शङ्कर, चिया किसान, उद्यमीलगायतले कृषि क्षेत्रमा देखिएका श्रमका समस्या, बजारका समस्या र उत्पादन तथा गुणस्तरका समस्या समाधानका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।