प्रदेश 1

नयाँ मुलुकी ऐन बुझाउँदै न्यायाधीश

मङ्गलबारे । नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीश जहिल्यै पनि स्वतन्त्र हुनुपर्ने र न्यायाधीशले व्यक्तिगत भेटघाटभन्दा पनि सामूहिक भेटघाट मात्र गर्नुपर्ने विचार व्यक्त गरे । उन्ले अदालतले जहिल्यै पनि ठीक फैसला गरेको भन्ने हुँदैन कहिलेकाहीँ सेवाग्राहीले दुःख पनि पाइरहेका हुन्छन्, त्यस्तो दुःख नहोस् भनेर न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको बताए ।

उच्च अदालत विराटनगर इलाम इजलास, जिल्ला अदालत इलाम र जिल्ला अदालत पाँचथरको संयुक्त आयोजनामा शुक्रबार भएको कार्यक्रममा पाँचथरको मिक्लाजुङ र इलामको फाकफोकथुम गाउँपालिकाका ७० जना जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

अदालतले गरीब तथा असहायका लागि वैतनिक वकिलको व्यवस्था गरेको बताउँदै इलाम इजलासका न्यायाधीश तेजनारायणसिंह राईले बताए । कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासकी न्यायाधीश यमुना भट्टराईले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा स्पष्ट पारे । कुनै अपराधमा पहिले सर्वस्वसहित जन्मकैद हुन्थ्यो भने अहिले ऐन परिमार्जन भएर आजीवन काराबासको व्यवस्था रहेको छ ।

गाउँपालिका तथा नगरपालिकामा गठन भएका न्यायिक समितिमा चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत रहेको सो अवसरमा जानकारी गराइयो । अदालतका न्यायाधीश भेट्न हुँदैन भन्ने भ्रम चिर्नलाई गाउँगाउँमा न्यायाधीश कार्यक्रमलाई अझ व्यापक बनाउने उच्च अदालत विराटनगर इलाम इजलासले जनाएको छ ।

कार्यक्रममा जिल्ला अदालत इलामका न्यायाधीश इन्द्रकुमार चोङटेन्ली, पाँचथरका न्यायाधीश मनोज केसी, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बर्तमान ऐनका बारेमा प्रकाश पारेका थिए ।