गण्डकी प्रदेश

गाउँपालिका अध्यक्षले व्यक्तिगत लगानीमा गरे यस्तो कमाल

गलेश्वर । म्याग्दीको एक गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमा लाखौँ रुपैयाँ खर्च पुर्वाधार निर्माण गरेका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले पुर्वाधार निर्माणमा व्यक्तिगत रु ४४ लाखको सहयोग गरेका हुन् । गाउँपालिकामा निर्वाचित भएपछिको २० महीनाको अवधिमा उनले पूर्वाधार निर्माणलगायत विपन्नका लागि रु ४४ लाख ६० हजार १११ सहयोग गरेका बताइएको छ ।

उनले आफ्नो गाउँपािलकामा झन्डै २० किलोमिटर भन्दा बढीमा सडक निर्माण तथा मर्मत, बालशिक्षा भवन मर्मत, खानेपानी योजना मर्मत, दलित बस्तीमा छुट्टै खानेपानीको व्यवस्था, बिभिन्न वडामा रहेका खेल मैदान निमार्ण, भवन निर्माण तथा अन्य पुर्वाधार निर्माणलगायतमा उक्त रकम लगानी गरेका बताइएको छ ।

अध्यक्ष भण्डारीले आफ्नो पारिश्रमिकको रकम गरीब र विपन्न बालबालिकाको शिक्षाका लागि अक्षयकोष स्थापना गरिसकेका छन् । रोजगारीको सिलसिलामा १० वर्ष खाडी मुलुकमा काम गरी फर्किएका भण्डारी स्वदेश आएर निमार्ण व्यवसायीको रुपमा काम गर्दै आएका थिए। उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।