प्रदेश 1

ऋण तिर्न देउसी कार्यक्रम, ११ लाख तिरियो

बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ ।

विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिनुभयो । बुद्धशान्तिको २३ वटा टोलमा खेलिएको देउसीबाट रु ११ लाख ३८५ सङ्कलन भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाले यसअघि विद्यार्थी ओसार्नका लागि भाडामा बस सञ्चालन गर्दै आएको बताए । “नमूना विद्यालय बनाउन योजनाका साथ अघि बढेका छौँ”, उनले भने, ‘शैक्षिक गुणस्तरसँगै विद्यालयमा सुविधासमेत वृद्धि गर्न आवश्यक छ ।”

विद्यालयको देउसी कार्यक्रममा अभिभावकीय भूमिका निर्वाह गर्नुभएका बुद्धशान्ति–१ का वडाध्यक्ष भीमकुमार नेवारले पछिल्लो समय देउसी रचनात्मक बन्दै गएको बताए ।