गण्डकी प्रदेश

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध

पोखरा । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका तर्पmबाट सामाजिक विकासमन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकङ्ग्रेस स्थायी कमिटीका उपाध्यक्ष सु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीपत्रमा हाइनान प्रान्तले गण्डकी प्रदेशमा प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने सहित सात बुँदे सहमति भएको उल्लेख छ । सो अनुसार यहाँ प्राविधिक विद्यालय स्थापना र नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । नेपाली, चिनियाँ र अङ्ग्रेजी तीन भाषामा समझदारीपत्र तयार पारिएको थियो ।

उनका अनुसार सम्झौतासँगै हाइनानले गण्डकी प्रदेशबाट वार्षिक चार जनाको दरले आगामी पाँच वर्षसम्म २० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्यापन गराउने भएको छ । सोही कार्यक्रममा प्रदेशसँगै पोखरा महानगरपालिका र हाइकाओ नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङलीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निमन्त्रणामा सु जुनको नेतृत्वमा हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङली, सान्या नगरपालिकाका अध्यक्ष ह्वाङलगायत छ सदस्यीय सरकारी टोली र त्यहाँको प्राविधिक इन्ष्टिच्युटका प्रमुख तथा प्रतिनिधि र सौर्य ऊर्जासँग सम्बन्धित प्रतिनिधि गरी १५ जनाको चिनियाँ टोली पोखरा आएको हो ।सौर्य ऊर्जासँग सम्बन्धित उक्त प्रतिनिधिमण्डको एक टोली आज सम्भाव्यता अध्ययनका लागि मुस्ताङ जाने कार्यक्रम छ ।