पु.समाचार

राष्ट्रसङ्घका विशेष प्रतिवेदक सोमबार काठमाण्डौ आउँदै

काठमाडौँ । महिला हिंसाविरुद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको दशदिवसीय भ्रमणमा आगामी सोमबार काठमाडौँ आउने भएका छन् ।

भ्रमणका क्रममा उनले लिङ्गका आधारमा महिलाविरुद्ध हुने हिंसा, भेदभाव, आदिवासी, शरणार्थी महिला, शारीरिक रुपमा अक्षम महिला, आप्रवासी तथा ग्रामीण एवं सुदूर क्षेत्रका महिलाका अवस्थाबारे जानकारी लिने राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटेकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरुद्धका नेपालका ऐनकानुन, नीति नियमबारे जानकारी लिनका साथै वरिष्ठ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

केन्द्रका अनुसार संयुक्त राष्ट्रसङ्घमा आबद्ध निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय नियोग, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, हिंसाबाट जोगिएका नागरिकहरुसँग पनि छलफल गर्नेछन् । विशेष प्रतिवेदक सिमोनोभिचले आफ्नो प्रतिवेदन आगामी वर्ष मानवअधिकार परिषद्मा प्रस्तुत गर्नेछन् ।