समाचार

देशको मुख्य समस्या दैनिक रुपमा बढ्दै गएको भ्रष्टाचारः डा लोहनी

नुवाकोट । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको बताएका छन् । उनले नेपालको प्रमुख समस्या भनेकै बढ्दो भ्रष्टाचार भएको दाबी गरे ।

शुक्रबार बेलकोटगढी नगरपालिका–१० बेलकोटको निरञ्जना माविलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा डा लोहनीले भ्रष्टाचार निवारण गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नका लागि वर्तमान सरकारले प्रयास नगरेको आरोप लगाए । अध्यक्ष डा लोहनीले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले यही स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।
स्व निरोज सेढाईं परोपकार संस्थाद्वारा आयोजित कार्यक्रममा निरञ्जना माविलाई एक थान कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।