राजनीति

यो मुलुकको कायापलट कसरी गर्ने भन्ने कुरा कांग्रेसले मात्रै बुझेको छः सहमहामन्त्री डा महत

बर्दिवास । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । आज महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताए । मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा महतको भनाइ थियो ।

भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा महतले बताए । सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका सांस्कृतिक धरोहर मुलुकको पहिचान भएका र यिनै पहिचानलाई मुलुकको समृद्धि अभियानसँग जोड्नुपर्ने डा महतको भनाइ थियो ।

मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति काङ्ग्रेसको विचार मात्र नभई जीवन पद्धति नै भएको डा महतले बताए । “लोकतन्त्र काङ्ग्रेसको जीवन पद्धति हो”, डा महतले भने, “कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, काङ्ग्रेस लोकतन्त्रको उपयोग हैन, जीवनको अभिन्न पद्धति ठान्दछ ।” समारोहमा काङ्ग्रेस केन्द्रीय सदस्यहरु किरण यादव र महेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।