प्रदेश 1

प्रधानमन्त्रीको गृहजिल्लामा ‘सुपारी जोन’ कार्यक्रम अघि बढ्यो

भद्रपुर । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा रु ३० लाख विनियोजन गरिएको छ ।

जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताउनुहुन्छ । हाल दुई हजार ६३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ । “सुपारी जोन कार्यक्रम सञ्चालनपछि उत्पादन बढ्ने, यसमा आश्रित किसानले नयाँ प्रविधि, सिँचाइ, मल र ऋण पाउने छन्,” खरेलले भन । बढी सुपारी उत्पादन हुने मेचीनगरका चार वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ ।

हालसम्म किसानले परम्परागत तरिकाले सुपारी खेती गर्दै आएकामा अब सुपारी जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाइने अपेक्षा गरिएको सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताउनुभयो । परियोजनामार्फत सुपारीखेती गर्ने किसानलाई सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत तथा कृषि व्यवस्थापन सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान प्रदान गर्नेछ । “सुपारी जोन कार्यक्रमले बजारीकरणको समस्या हल हुनेछ,” खतिवडाले भने ।

सुपारी किसान विश्वनाथ ढकाल तीन वर्षदेखि दुई सय ५० क्विन्टल सुपारी निर्यात हुन नसक्दा गोदाममै थन्किएको बताउछन् । “सरकारले किसानलाई बजारीकरणका लागि सघाउनु पर्छ,” उनले भने । जिल्लामा धान जोन कार्यक्रम २०७२ सालदेखि तथा रबर र सुपारी जोन कार्यक्रम चालु आवदेखि लागू भएको हो ।