प्रवास

प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ-अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।

पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।

पार्टी सङ्गठनलाई महत्व दिई उच्च मनोबलका साथ सङ्गठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीको नीति तथा कार्यक्रमलाई देशव्यापी अभियानमा लैजानु अहिलेको मुख्य कार्यभार भएको विचार व्यक्त गरे ।

अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकका रुपमा रहेको ‘गाई’लाई चुनाव चिन्ह्का रुपमा पार्टीले छाड्न नसक्ने प्रष्ट पार । पार्टी एकताका निमित्त सदैव ढोका खुला छ भन्दै उनले कार्यकर्ताको भावनाको सम्मान गर्न आफ्नो दल एकताका निम्ति सकारात्मक रहेको बताए । विभागका प्रमुख विजय खड्काले आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाका निम्ति सङ्गठनले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने बताए ।