राजनीति

पीत पत्रकारिताको पराकाष्टासहित अनुमतिबिना अन्तरवार्ता प्रकाशित गर्दा मेरो मान हानी भयोः नेता गौतम

काठमाण्डौ । नेकपाका सचिवालय सदस्य बामदेब गौतमले आफूसंग अन्तरवार्ता नै नलिई अन्तरवार्ता प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । नेता गौतमको बद्नाम हुनेगरी पत्रिकामा अन्तरवार्ता छापिएकोप्रति ध्यानाकर्षण भएको जनाउदै आफ्नो असहमतिमा छापीएको अन्तरवार्ताप्रति विश्वास नगर्न सबैलाई अनुरोध गरेका छन् ।
नेकपाका प्रभाबशाली नेता गौतमले अन्तरवार्ता छाप्दा अनुमतिबिना छाप्नु गैरकानूनी हुने तर्क गर्दै पीत पत्रकारीता नगर्न पत्रकारहरुलाई आग्रह गर्दै एक बिज्ञप्ती प्रकाशित गरेका छन् । नेता गौतमले प्रकाशित गरेको विज्ञप्ती जस्ताको तस्तैः

‘नदिएको अन्तर्वार्ताप्रति मेरो आपत्ति
नयाँ पत्रिका दैनिकसम्बद्ध एकजना पत्रकारले हिजोमात्र मलाई फोन गरेर अन्तर्वार्ताका निम्ति जबरजस्त अनुरोध गर्नुभएको थियो । जति जबरजस्ती गरे पनि म अन्तर्वार्ता दिन तयार भइनँ । उहाँले आजको नयाँ पत्रिकामा भन्दै नभनेका तथा निराधार र पत्रिकामा प्रकाशित नगर्ने गरी बोलेका सामान्य कुरालाई अन्तर्वार्ताजस्तो गरी छापेर मेरो चरित्रमा खेलवाड गर्नुभएको छ । नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो । विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन । सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन । मैले फोन गर्ने पत्रकार मित्रलाई कुराकानीका सम्बन्धमा भनेको यत्ति हो । तर, उहाँले यसलाई अन्तर्वार्ताका रुपमा तोडमरोड गरी प्रकाशित गरेर मेरो मानहानी गर्नुभएको छ र पितपत्रकारिताको नमूना प्रस्तुत गर्नुभएको छ । कानुनतः सम्बन्धित व्यक्तिको सहमतिबिना अन्तर्वार्ता लिन वा नलिएको अन्तवार्ता प्रकाशन र प्रशारण गर्न मिल्दैन । तसर्थ, नयाँ पत्रिकामा ‘अन्तर्वार्ता’ भनी प्रकाशित मेरा भनाइहरु प्रति म स्वयंको सहमति नभएको र त्यस ‘अन्तर्वार्ता’ मा उल्लेखित विषयका आधारमा मेराबारे कुनै धारणा नबनाइदिनुहुन म मेरा समस्त पार्टी सहयोद्धा तथा देश–विदेशमा रहनुहुने शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु ।”