पु.समाचार

सबै क्षेत्रका सिन्डिकेट हटाउन दत्तचित्त भएर लागीपरेका छौंः गृहमन्त्री थापा

बेनी । गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताएका छन् ।

म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौं सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको आज यहाँ सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

‘‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन्, मुलुक र आमनागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’’, मन्त्री थापाले भने ।

यातयातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पु¥याएकाले कानूनी रुपमै त्यसलाई हटाउने निर्णय लिएको मन्त्री थापाले बताए । उनले यातायात क्षेत्रमा कानूनी रुपमा एकाधिकार हटे पनि व्यावहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आवश्यक काम गरिरहेको बताउँदै उनले यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायी प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाइएको एकाधिकारलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातायातसम्बन्धी ऐन र व्यवस्थालाई नै परिवर्तन गर्न आवश्यक रहेको बताए । प्रालिका अध्यक्ष सुरत केसीले काठमाडौं र पोखरा लगायतका क्षेत्रमा अझै पनि एकाधिकार हट्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।