समाचार

मुख्यमन्त्रीद्वारा सामाजिक भट्ट पदमुक्त, सुबेदी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई आज पदमुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उनलाई पदमुक्त गरिएको हो । रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज अपराह्न आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराए ।

सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित थिए ।

यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । करीब दश महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन् ।

नवनियुक्त सामाजिक विकासमन्त्रीलाई आज शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उनलाई पदमुक्त गरिएको बताए ।

मुख्यमन्त्री भट्टले भने, ‘‘संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ ।” मन्त्रीबाट पदमुक्त गरिभएका सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए । उनी कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।