पु.समाचार

मन्त्रालयहरुले ढिलासुस्ति गरेको सुनेपछि प्रधानमन्त्रीद्वारा फटाफट काम गर्न कडा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहेका छन्।

उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्छन् ।

‘‘सबै मन्त्रालयका सचिवले प्रत्येक महीनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’’, उनले भने, ‘‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’’ मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैंले अनुगमन शुरु गरेका बताईएएको छ । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमित रुपमा सबै मन्त्रालयको कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए । ‘‘प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ’’ उनले भने, ‘‘अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।’’

प्रवक्ता कुँवरले कार्ययोजनामा आएका समस्यालाई नीतिगत रुपमा प्रधानमन्त्री कार्यालयले समाधान गरिरहेको बताउनुभयो । ‘‘मन्त्रालयको नीतिगत र संरचनागत सहयोग हामीले गरिरहेका छौंँ’’, उनले भने, ‘‘तर तोकिएको समयमा काम सक्नुपर्ने निर्देशन छ ।’’

सरकारले विकास र पूर्वाधारका काम दु्रत गतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई तोकिएका काम गर्न प्रधानमन्त्री ओलीले आफैँ निर्देशन दिएको समाचार छ । ‘‘यसअघि वर्षायाम र चाडपर्व परेकाले विकास र पूर्वाधारका काम हुन सकेका थिएनन्’’, प्रवक्ता कुँवरले भने, ‘‘अब वर्षायाम र चाडपर्व सकिएकाले यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारका काम दु्रत गतिमा हुन्छ ।’’