प्रदेश 1

सामूहिक बलात्कारपछि बालिकाको हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए । एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।