कर्णाली प्रदेश

कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड दिइएको बताइन् । सुर्खेत लेकबेसी नगरपालिकाको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित कृषक तालीम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री केसीले सो कुरा बताइन् ।

सहकारीबिना आर्थिक विकास र स्वरोजगार असम्भव रहेको औँल्याउँदै मन्त्री केसीले भनिन्, “कृषि क्षेत्रमा नमूना काम गर्ने सहकारी, कृषक तथा कृषि समूह एवं फर्मका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।” “किसानहरुले उत्पादन गरेको बीउ न्यूनतम मूल्य दिएर खरीद गर्छौं र उनीहरुलाई एक प्रतिशत पनि निराश हुन दिने छैनौँ,” उनले थपिन् “सरकारी अनुदान किसानमा पुगेन बरु बिचौलियाहरुले खाए ।”

प्रदेशसभा सदस्य सीता नेपालीले तीन खम्बे अर्थनीतिमा सहकारी एक रहेको बताउँदै अबको सहकारी सञ्चालकमा नभई सदस्यमा केन्द्रित हुने ऐन तथा रणनीति तयार गर्न थालिएको जानकारी दिइन् ।