राजनीति

काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

भक्तपुर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले आज आयोजना गरेको प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा उनले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिए ।

बिपी कोइरालाको विचार र सिद्धान्त आजसम्म पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले देशमा उत्पादन बढाउने र आमनागरिकसम्म त्यसको पहुँच पु¥याउनका लागि के कस्ता समस्या छन्, त्यसको पहिचान गरी समस्याको समाधानका उपायसहितको सुझाव दिन सहभागीलाई निर्देशन दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवनबहादुर शाही, शिवप्रसाद हु्मागाईं, अर्जुन जोशी, प्रदेश नं ३ का प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, डा अच्युत वाग्ले, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायतले अब बन्ने काङ्ग्रेसको आर्थिक नीति परम्परागतभन्दा पनि परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र प्रदेश सांसद गरी ४० जनाको सहभागिता रहेको र उनिहरुले पार्टीले बनाउन थालेको अर्थिक नीति निर्माणका लागि महत्वपूर्ण सुझाव दिने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।