पु.समाचार

प्रहरीलाई १०० मा फोन गरी गलत सूचना दिने रावल यसरी परे प्रहरी फन्दामा

बाजुरा । १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताए ।

गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिएका छन् ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ ।