खेलकुद

साविक बिजेता बायर्नको खराव प्रदर्शन जारी,डर्टमण्डसंग ३–२ ले स्तब्ध

काठमाण्डौ । जर्मन घरेलु लिग बुण्डेस लिगामा साविक विजेता बायर्न म्युनिखको खराब लय जारी रहेको छ ।

जारी सिजनमा तेस्रो हार ब्यहोर्ने क्रममा बार्यन लिग लिडर बोरुशिया डर्टमण्डसँग ३–२ गोल अन्तरले स्तब्ध भयो । डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा बायर्नले सुरुआती अग्रता लिएको थियो । २६औं मिनेटमा रोवर्ट लेवाण्डोस्कीले गोल गरेका थिए । तर, जारी लिगमा अहिलेसम्म पराजित नभएको डर्टमण्ड दोस्रो हाफको सुरुमै पेनाल्टी गोलमार्फत खेलमा फर्कियो ।

उसका लागि मार्को रिउसले गोल गरेका थिए । तर, त्यसको तीन मिनेटपछि नै पाहुना टोलीका लागि रोवर्ट लेवाण्डोस्कीले गोल गर्दै पुनः अग्रता दिलाए । त्यसयता डर्टमण्डले दुई गोल गर्न सफल भयो । ६७औं मिनेटमा रिउसले नै व्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई दुईको बराबरीमा आयो । ७३औं मिनेटमा पाको अल्कासरले गोल गरेपछि डर्टमण्डको ३–२ गोलको जित निश्चित भयो ।

जितसँगै शीर्ष स्थानमा डर्टमण्डको ११ खेलबाट २७ अंक भएको छ भने समान खेलबाट २० अंकसहित बायर्न तेस्रो स्थानमा छ । शनिबार राति भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुशिया मोन्चेनग्लाडबागले वेर्डर ब्रेमेनलाई ३–१ गोलले हराएको छ । उसको ११ खेलबाट २३ अंक छ ।