राजनीति

काठमाण्डौ कांग्रेसले ओली सरकारको भण्डारफोर अभियानको नेतृत्व गर्नुपर्छः नेता सिंह

काठमाडौँ । देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ ।

‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेको आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत काङ्ग्रेस काठमाडौँका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको जानकारी दिए ।

“भवन बनाउने स्रोत पार्टीसँग थिएन, नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग मागेर भवन सम्पन्न गरेका छौँ, निर्माणमा कति खर्च लाग्यो भन्ने सबै हिसाब किताब खोजेर मात्र भन्न सकिन्छ”, उनले भने।

सो अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिदैं विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।

“राजधानीमा महँगी र प्रदुषण बढ्दै गएको छ, यसका विरुद्ध काठमाडौँ काङ्ग्रेसले दबाब दिने कार्यक्रम गर्नुपर्छ, केन्द्रकै मुख ताकेर बस्नुपर्दैन, पार्टी लोकतान्त्रिक तरिकाले चल्नुपर्छ, बैचारिक स्पष्टता समेत जरुरी छ”, उनले भने ।

नेता सिंहले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संविधान जारी गर्ने जिम्मेवारी आएजस्तै विकास र समृद्धिको नेतृत्व काङ्ग्रेसकै काँधमा आउने भएकाले तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

नेता नवीन्द्रराज जोशीले काङ्ग्रेस महासमिति बैठक तीन पटक सरिसकेकाले अब तोकिएकै समयमा गर्न नेतृत्वसँग माग गरे । पार्टीमा सर्वोच्च नेता गणेशमान सिंहको जस्तै त्यागको खोजी गर्ने बेला आएको उनले भने ।

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधान बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतले पार्टीभित्र शुद्धीकरण अभियान जरुरी रहेको विचार व्यक्त गरे ।

काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले विधिसम्मत पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।