गण्डकी प्रदेश

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै विक

वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै छन् ।

मलेसियामा करीब सात वर्ष बिताएर घर फर्कनुभएका उनले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर थाल्नुभएको व्यवसाय आज उदाहरणीय बन्दै गएको हो ।

“सामान्य रुपमा घरमा पाल्दै आएका माउबाट बच्चा उत्पादन गरी बिक्री गर्दै आएको थिएँ”, व्यवसायी विकले भने, “जीवन निर्वाहका लागि गर्दै आएको व्यवसायलाई नै व्यावसायिक रुपमा अगाडि बढाउने निर्णय गरी अगाडि बढेँ ।”रु १५ लाखको लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीबाट व्यवसायको थालनी गरेका उनी आज उदाहरणीय व्यवसायीका रुपमा स्थापितभएका छन् ।

“शुरुमा मासुको प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरु प्रयोग गर्थें”, व्यवसायी विकले भने, “अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० भन्दा बढी पाठापाठी बिक्री गर्ने गरेको छु । बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु १३ लाखदेखि १५ लाखसम्म आम्दानी हुन्छ । ”

“सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म नीति पुग्न सकेको छैन”, व्यवसायी विकले भन्नुभयो, “कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।”