प्रदेश 1

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

बनियानी । झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ”, उनले भने, “इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।”

त्यस्तै, ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए । “फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका छन्”, उनले भने, “धर्मगुरु र किराँत धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको हो ।”

विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उहाँलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँ नेपालका १६ औँ राष्ट्रिय विभूति हुनुहुन्छ । उनको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ ।