प्रवास

अमेरिकामा भाईटीका नेपाली समुदायको भाईटीका

विजय थापा, वाशिंगटन डिसी । समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । अमेरिकामा सार्वजनिक बिदा नहुने भएको कारण समय व्यवस्थापन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको समय देखि छुट्टी मिलाएर भाईटीका मनाएका छन् ।

यस पटक धेरै राज्य तथा शहरहरुमा दिनभर परेको वर्षा तथा अमेरिकाका केही राज्यमा परेको हिऊमा पनि भाईटिका मनाइएको छ । अमेरिका मै तीन पुस्ते र बुवाआमा समेत बसोबास गर्ने क्रम वृद्धि भएको कारण अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

नेपालमा जस्तै काग तिहार देखि नै भाई टीका सम्म ५ दिन नै आफ्ना घरमा झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् ।

तिहारका लागी चाहनी सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालमा भाई टीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अमेरिकामा पनि अधिकांशले यही समयमा नै टीका लगाएका छन् । साथै टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ ।

अमेरिकामा केही राज्य तथा शहरबाट अर्को शहरमा ३ घण्टा सम्मको समय फरक हुने भएकोले अगाडी पछाडी टिका सुरु भै सकेको छ ।

तिहारमा केही नेपाली समुदायमा मनोरंजनको लागि कौडा पनि खेलेका छन् । बिशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन् ।

यसै गरि देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेलिएको छ । अमेरिका भर भाई टीका मनाउने क्रम जारी छ ।