लुम्बिनी

अनाथ बालबालिका भन्छन : परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ

रुपन्देही । यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ ।

गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन ।
हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुबाको अनुहारसम्म याद छैन ।

उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले गरे पनि परिवारको कमी सधैँ महसुस हुन्छ । जन्मदिने आमा र जन्मथलोलाई सबैभन्दा धेरै याद गर्छन् उनीहरु । आफ्नै परिवार र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु चाडपर्वमा पनि खिन्न मन बनाएर आश्रममै बस्छन् ।

विगत तीन वर्षदेखि बुटवलको बाल कल्याण गृहमा रहेका रुकुमका १० वर्षीय बालक विजय परियारलाई तिहारको महत्व छैन । परिवारबिनाको चाड विजयलाई रमाइलो लाग्दैन ।

‘तिहारमा कति धेरै पटका पट्काउँथेँ, रमाइलो हुन्थ्यो यहाँ त त्यति रमाइलो लाग्दैन’, परियारले दुखेसो पोखे । आमाबुबाले छोडेर हिँडेपछि हजुरआमाको रेखदेखमा हुर्किएका जीवनको हजुरआमा मृत्युपछि जीवन सहज भएन ।

‘आमाबाबु कहाँ गए, बजै पनि मरिन् अनि एउटा अङ्कलले आश्रममा ल्याएर छाडे’, उनी भन्छन्, ‘मलाई रुकुम जान कति मन लाग्छ तर कसैले लग्दैन ।’ परियारजस्तै नवलपरासी बडेराकी ६ वर्षीया मनु मुसहर पनि चाडमा आफन्तलाई धेरै याद गर्छिन् । पाँच दिदी र एक दाजुकी कान्छी बहिनी भएर पनि बालगृहमा बस्नुपर्दा उनको मन नरमाइलो छ ।

सानो छँदा आमाबुबाले छोडेर गएपछि नौ वर्षीय दिदी मनिषा मुसहरसहित बालगृहमा बस्न थालेकी मनुले चाडपर्वमा परिवारको धेरै याद गर्छिन् । मनुकी दिदी मनिषा भन्छिन्, ‘यहाँ खान बस्न त राम्रो छ तर मनुले घर जान मन गर्छिन् । कहिलेकाहीँ रोएर जिद्धि गर्छिन्, दाजु र दिदीले पनि घर लैजान खोज्नुहुन्न । तिहारमा पटका पड्काउन र दियो बाल्न मनुलाई धेरै मन पर्छ ।’

नवलपरासी सुनवलकी १५ वर्षीया बबिता थापाको मन पनि चाड आउँदा खिन्न हुन्छ । सानैमा बाबु मरेपछि रोजगारीका लागि कतार गएकी आमाको कुनै खबर नभएपछि छिमेकीको सहायतामा बालगृहमा रहेकी बबिताले चाड आउँदा आमा र आफन्तलाई धेरै याद गर्छिन् ।

सानै उमेरमा बाबु गुमाएकी र आमाको पनि कुनै खबर नआउँदा बबितालाई नरमाइलो लाग्छ । ‘आश्रममा बसेपछि भनेजस्तो कहाँ हुन्छ र, धन्न खान बस्न पाइएको छ । यो नै ठूलो कुरा हो, आँशु झार्दै थापा भन्छिन्, ‘परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।’

अनाथ बालबालिकाका लागि आश्रमले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको व्यवस्था गरेको छ । उनीहरुलाइ आश्रमप्रति कुनै गुनासो छैन तर चाडपर्वको समयमा आफन्तसँगै हुन पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ ।

‘बालबालिकालाई आफन्तको कमी महसुस नहोस् भनेर धेरै कोसिस गर्छौं, बाल कल्याण गृहका प्रमुख कमला ज्ञवालीले भन्नुभयो, ‘चाडपर्वमा विशेष खानपान र रमाइलोको व्यवस्था गर्छौं ।’

तेइसजना बालबालिका रहेको यो बालगृहमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका रहेको बालगृहका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलको बुटवल मावि र जितेश्वरी माविमा अध्ययन गर्ने व्यवस्था बालगृहले मिलाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा जिल्ला बाल कल्याण समितिमा सूचीकृत भएका आठ वटा अनाथ आश्रम सञ्चालनमा छन् ।