साहित्य

के गर्दै छन् उनीहरू ?

कविता

(जितु खड्का)

मूलढोकामा संस्कृति बचाऔं लेखिएको छ
तर सधैंजसो यहाँबाट
देउसे भैले, साधुसन्त, अशक्त, माग्नेहरु खालि हात फर्किनुपर्छ
अघि गाइने सारङ्गी बजाउँदा बजाउँदा दिक्क भएर खालि हात गइसक्यो
तल आँगनमा एक हुल केटाकेटीहररू भैलो गाएर
रित्तो हात फर्किसके
घरघरमा बत्ती बलेका छन्
तामझाम छ चारैतिर
झिमिक झिमिक गर्दै तिहारको उज्यालो
झ्यालबाट भित्र पस्न खोज्दै छ
शंख, घण्ट, धूपबत्ती, आरति चल्दै छ सबैका घरमा
साँझ बत्ती पनि नबाली यो अँध्यारो घरभित्र
के गर्दै छन् उनीहरू
पटका पड्काउँदै छन् छरछिमेकीहरू
लिङ्गे पिङमा रमाउँदै छन्
लङ्गुरबुर्जा खेल्दै छन् केटाकेटीहरू
आँगनमा देउसी खेल्नेको झुण्ड आजित भइसक्यो
कति कराउनु धैर्यको बाँध टुटिसक्यो
उनीहरु आँगन नाँघेर सिकुवामा उक्लिसके
इपिलको बोट भाँचौंला झैं गर्न थालिसके
बकैनाको हाँगामा उक्लिएर कराइसके
कतैबाट पार नलागेपछि
दक्षिणा खोई भन्दै
घुमिघुमि बाख्राको टाट्नो, ग्वालिको टाटि भत्काउनै लागिसके
यो देखेर बाख्रापाठाहरू म्याँम्याँ र मुमु गर्न थालिसके
तर भित्रबाट कुनै संकेत आएन
आखिर के गर्दै छन् उनीहरू
बाहिरबाट हेर्दा धमिलो छाया मात्र देखिन्छ कोठामा
के गर्दै छन्
कि अँध्यारो कोठामा अँध्यारोकै खेल खेल्दै छन्
कि कानमा इयरफोन लाएर मोबाइल चलाउनमा व्यस्त छन्
एक्कासि शून्यता खस्छ आँगनमा
देउसेलाई टाढा पुग्नु थियो
कहिल्यै नरिसाउने किस्ने भट्याउन छोडेर
एक्कासि जङ्गियो साथीहरूसँग दाइँको गोरूजस्तो कहीँ नपुगिने यात्रा नगरौँ भो
बाहिर संस्कृति जोगाऔँको उपहास हुने गरी
आखिर भित्र के गर्दै छन् उनीहरू ?