बाग्मती

रु चार लाख ५५ हजारसहित २३ जुवाडे पक्राउ

चितवन । भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई रु एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट रु तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए । दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उनले बताए ।