खेलकुद

जिससको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब शख्तर डोनट्स्कलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले शख्तर नोनट्स्कलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्रबियल जिससले ह्याट्रिक गोल गरे । डेभिड सिल्भा, रहिम स्ट्रर्लिङ र रियाद महारेजले पनि गोल गर्न सफल भए ।

खेल अवधिभर म्यान्चेस्टर सिटीले एकलौटी खेल खेलेको थियो । खेलको १३ औं नै सिल्भाले गोल गर्दै सिटीले अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा जिससले पेनाल्टीमा गोल गर्दै सिटीलाई दोब्बर अग्रतामा पुर्याएका थिए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गर्न सक्यो । खेलको ४८औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको तेब्बर अग्रता दिलाएका थिए । खेलको ७२औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ४–० गोलको अग्रता दिलाउन सफल भए ।

एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आक्रमक खेल खेलेको सिटीका लागि खेलको ८४औं मिनेटमा महरेजले गोल गर्दै ५–० गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा फेरी सिटीले पेनाल्टी पायो । पेनाल्टी सदुपयोग गर्दै जिससले ह्याट्रिक गोल पूरा गरेभने सिटिीलाई ६–० गोलको जित दिलाए ।

समूह एफ अन्तर्गत नै गएराति भएको खेलमा लियोन र होफेनहाइमले २–२ गोलको बराबरी खेलेका छन् ।

४ खेलबाट ९ अंक बनाएको सिटी समूह एफ को शीर्ष स्थानमा छ । त्यस्तै, सिटीसँग पराजित भएको शख्तर डोनट्स्क २ अंकसहित समूहको पुछारमा छ । यता, लियोन ६ अंक बनाउँदै दोस्रो स्थानमा रहंदा समान ४ खेल नै खेलेको होफेनहाइम ३ अंक सहित तेस्रो स्थानमा छ ।