कृषि

चार करोडको फूल बिक्री, भारतीय फूलको आयात ६० प्रतिशत घट्यो

सुनसरी । यसपालिको तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गरेको छ । बुधबार एकैदिनमा करिब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार भएको हो। गत वर्षहरूमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए। स्थानीय कृषकले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन्।

सुनसरीको धरान आसपासका क्षेत्र विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तीमा ३० लाख रुपैयाँभन्दा बढीका फूलको उत्पादन भएको पराजुलीले बताए। विजयपुर क्षेत्रमा करिब अढाइ बिघाभन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाइएको थियो। उनले भने, ‘आयातित भारतीय फूलको दबदबा यो वर्ष कम भएको छ। यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थाले केही वर्षमा भारतीय फूल पूर्ण रूपमा विस्थापित हुनेछ।’

विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो। यसपालि स्थानीय फूल व्यवसायी कृषकहरूले व्यापक रूपमा फूल खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन्।

गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ। पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरू वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ। व्यावसायिक रूपमा तयार गरेर चिस्यानमा राखिने भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ता लोभिन्छन्।

कतिपयले भारतीय फूलमा फर्मालिन प्रयोग गरिने भएकाले लामो समय नओइलिने गरेको बताउने गरेका छन्। फर्मालिनलाई कुनै पनि पदार्थ कुहिनबाट जोगाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ हो।

पराजुलीले भारतीय फूल आयात गर्न सरकारले रोक नलगाए पनि यसपटकको तिहारमा स्थानीय फूलको बजार सन्तोषजनक देखिएको बताए। उनले भने, ‘किसानहरूले फूलबाट बढी नै आम्दानी गरे। फूलको उपभोग बर्सेनि बढेकाले स्थानीय किसानहरूले फूलको खेती पनि बढी नै गर्न थालेकाले भारतीय फूलको दबदबा घटदै गएको छ।’

विजयपुरका फूल उत्पादक दुर्गा लिम्बुले भारतीय फूलभन्दा स्थानीय फूल बढी बिक्री भएको बताए। उनले भने, ‘तिहार अलि ढिलो भएकाले पनि कृषकले रोपेका प्राय: फूल सबै फुलेका छन्। मौसमले राम्रो साथ दिएकाले पनि कृषकले राम्रो दाम फूलबाट पाएका छन्।’