राजनीति

स्थानीय तह, प्रदेश र केन्द्र तीनवटै सरकार प्रतिबद्ध नभए समृद्धि असम्भबः अध्यक्ष दहाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए । सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उनले बताए । अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उनले भने, “नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ ।”